Sunday, January 3, 2016

कविता :- समय संगै म

कविता : -   समय संगै म 

ऋतुको हिसाबले
हराभरा हरियाली बसन्तमा
जन्मिएको मान्छे हुँ  म
तर जीवनको कुरा गर्ने हो भने
अलि बेग्लै छ मेरो जीवन कथा
अलि बेग्लै छ मेरो पीडा अनि ब्यथा

कहिले  गृष्मको तातो तातो हावामा
निसासियो मेरो जीवन
उकुस मुकुस स्वासै फेर्न गार्हो
जीवन मरणको दोसधमा रहेर
प्रतिकुलतामा बाँच्नु पर्यो
त कहिले आफै भित्र भित्र जलेर
धुँवा धुँवा भएर उड्नु पर्यो

जव जव बर्षाद होला र फेरी
निभेर संघर्ष गर्दै पलाउँला भन्थें
तव फेरी मुशलधारे पानीको मारमा पर्छु
र फेरी बगाउछु आफैलाई
उही भिरको रुख पहिरोले खसाए जस्तै
लड्दै , भासिदै , निकासिदै घिसारीन्छु म

अनि लछार पछार हुन्छन
मेरा खुशीका हाँगाहरु....
चोइटिन्छन मेरा चाहनाका बोक्राहरु
छुट्टिन्छन मेरा हृदयका जराहरु
बदलिन्छु म एका  एक केहि बेर मै
सबै सबै छोडेर फगत  मुढामा
र मिसिन पुग्छु म अविरल बग्ने गंगामा ....

अब म जहाँ थिएँ त्यहाँ रहिन
निश्चित छैन मेरो स्थान ..
जस्तो थिएँ त्यस्तो रहिन.
बदलिएको छ मेरो आकार
बदलिएका छन् मेरा चाहनाहरु र
बदलिएको छ मेरो अब  लक्ष्य पनि

छ त केवल अविरल बग्दै बग्दै
नदि संगै सागरमा पुगेर ..
पलपल संगै रहने ....
तैरिदै डुब्दै .. .डुब्दै तैरिदै ...
कालान्तर कालान्तर सम्म
बस जति रहन्छु  समय संगै म

अज्ञात पाल्पाली 

No comments:

Post a Comment