Saturday, February 1, 2014

गजल : -- काफिया के हो ?


काफ़िया के हो ?

काफियालाई तुकान्त पनि भनिन्छ र यो मतलामा रदीफ़भन्दा अगाडि मिसरा-ए-उला र मिसरा-ए-सानीमा जम्मा दुई पटक प्रयोग हुन्छ र अन्य शेरहरुमा मिसरा -ए-सानीमा एक पटक रदीफ अघि प्रयोग हुन्छ । काफिया तब हम-काफ़िया हुन्छन् जब ती दुईमा कुनै स्वर साम्यता हुन्छ या स्वर-व्यञ्जन साम्यता हुन्छ।


काफियाका नियम बारे धेरै बहस भएका छन् । तर काफियामा यति स्वतन्त्रता छ कि नबुझेर मात्रै काफियामा हामी अल्मलिने काम धेरै गर्छौं । हुन त काफिया दोष बुझ्न धेरै अध्ययन चाहिन्छ । जति बेला भावना आउँछ र गजलको मतला तयार हुन्छ तब हामी कति भावनालाई तुहाउनु पर्ने हुन्छ काफियाको कारणले । यसैले कति काफिया दोषपूर्ण काफिया पनि चलाउनु पर्ने अवस्था आउँछ । म आफै नै केही अध्ययन र केही अरुका गजल पढेर केही काफिया बुझेर पनि दोषरहित हुन सकेको छैन कतिपय गजलमा र काफिया दोष भएका आफ्नै गजलहरु पनि प्रशस्त चलाएकोछु । हेर्दा काफिया दोष जस्ता नदेखिए पनि कति गजलमा काफिया दोष बोकेका गजलहरु सम्प्रेषण गरेकोछु । तर काफियाका नियम बुझ्न हामीलाई निकै समय अझै लाग्ने पक्कै छ किनकि काफियका नियम जति बुझ्यो उति नै कठीन छन् ।


तल केही काफियाका उदाहरणहरु (आफ्नै गजलहरु) पेश गरेकोछु ।

स्वर साम्यता भएका काफिया

जहाँ बढी व्यथा दुख्‍छ मैले त्यही कुना लिएँ ।
जति दुख्‍यो जिन्दगी यो मैले त्यत्ति मजा लिएँ ।

कति सुन्छौ महल र झुपडीका कथाहरु
तिमीलाई सुनाउन आज आफ्नै कथा लिएँ ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित

मतलाका दुई काफियाले अरु शेरका काफिया निर्धारण गर्दछन् । यी काफियाहरु आफैले नै लेख्‍ने हुँदा अन्य शेरमा आफूलाई कसरी बाँध्ने हो त्यसै अनुरुप मतलामा काफियाको बन्धन निर्माण गर्नु पर्ने हुन्छ । यसै हुँदा यी माथिका काफियामा के समानता छन् या के साम्यता छन् हेरेर अरु शेरहरुको काफिया लेख्‍न जरुरी हुन्छ ।

माथिको काफियामा झट्ट हेर्दा काफिया दोष जस्तो देखिन्छ । तर यसमा काफियामा दोष छैन । यसमा स्वरलाई काफियाको रुपमा लिइएकोछ । उदाहरणका लागि काफियालाई राम्ररी हेरौं :
कुना
मजा
यी काफियामा समानता भनेको सबै काफियामा समान स्वर ‌+आ छन् र यस अघिका व्यञ्जन चाहिं कुन्, मज् आदि छन् । यसमा व्यञ्जनमा साम्यता छैन । मात्र अन्तिम स्वर वर्णमा मात्र साम्यता छ । यसर्थ अर्को शेरको काफिया कथा (कथ्+आ) लिन सकिएको हो । यस अनुसार अन्य काफियाहरु यस्ता लिन सकिन्छ – धोका, पर्दा, चन्दा, माला, सुर्ता आदि ।

स्वर और व्यंजन दुवैको साम्यता

सधैं तिमीले फूल दिन्थ्यौ यसपालि त छुरा दियौ ।
धेरैपछि तिमीले मलाई काम लाग्ने कुरा दियौ ।

तिम्रो दिल भट्टी रैछ भन्ने आज थाहा पाएँ
तिर्खाएथें पानी मागें तिमीले भने सुरा दियौ ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित

माथिका काफियाहरु:
छुरा
कुरा
सुरा

यी सबैमा छ+उरा, क+उरा, स+उरा सबैमा स्वर 'उरा' तथा व्यञ्जन छ, क, स सबैमा साम्यता छ । यसमा स्वर र व्यञ्जन दुवैमा साम्यता छ ।

यस्तै गरी सबै स्वर र व्यञ्जनमा साम्यता हुनैपर्छ भन्ने पनि छैन । उदाहरणका लागि:

माया गर्छु भन्छौ तर मुस्कानसँग डराउँछौ ।
महासागर तर्न खोज्छौ तूफानसँग डराउँछौ ।

आफ्नै मन दुश्मन हो नि लगाम लाऊ यसलाई
युद्ध गर्छु भन्छौ तिमी मैदानसँग डराउँछौ ।

मीठो निद्रा लाग्ने ओछ्यान एउटै छ नि जिन्दगीमा
किन तिमी बाँचुञ्जेल चिहानसँग डराउँछौ ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित



यसमा भएका काफियामा मुस्कान, तूफान, मैदान, चिहान मा साम्यता भनेको पहिलो अक्षरमा छैन तर दोस्रो व्यञ्जन र स्वर देखि साम्यता छ । यसो गर्दा 'मुस्कान' प्रयोग भएपछि फेरि 'ठेकान' काफिया प्रयोग गर्न पाईंदैन भन्ने नियम छ । तर यो नियममा अलि स्वतन्त्रता लिइएको पनि पाइन्छ ।

केही काफिया दोषहरु

१.

तिमी हौ कि जस्तो लाग्छ कोही बोले अँधेरीमा ।
सम्झिन्छु म तिमीलाई चुरी बजे मझेरीमा ।।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित

माथिको गजलमा काफिया मतलाले मागे अनुसार खडेरी, पखेरी, सल्लेरी चाहिन्छ । तर हामीले अन्य शेरमा यदि अन्य काफिया जस्तै शिकारी, पुजारी, भूमरी आदि शब्द चलायौं भने काफियामा मिले झैं लागे पनि दोषयुक्त मानिन्छ ।

२.

सुनको भन्दा मनको मन्दिर जाति हुन्छ नि ।
माया भन्ने देउताभन्दा माथि हुन्छ नि ।

माया गर्ने मनहरु बेग्लै हुँदैनन्
यौटै हुन्छ मुटु यौटै छाती हुन्छ नि ।
-------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित
यसमा मतलाले मागे बमोजिम काफिया शेरमा नहुँदा शेर दोषयुक्त बनेकोछ । मतलाले काफिया स्वर 'ई' मा मात्र मागेको छ । तर शेरमा भने 'ती' फेरि आएको हुँदा यो दोषयुक्त भएकोछ । हुन त श्रुतिसम भएर नेपालीमा यसलाई ठीकै मान्ने गरिए पनि काफियाको नियमानुसार यसलाई काफिया दोष मान्नु पर्छ । श्रुतिसम लाग्ने तर दोषयुक्त काफियाको दोषलाई इक्फा दोष भनिन्छ ।


जितेकाछन् मन पनि देशका अलङ्कार पनि ।
अब गरीब कहाँ छन् र सबै गजलकार पनि ।

यदि यस्तो लेखियो भने यसमा पहिलोमा अलङ्+कार र गजल+कार भएर श्रुतिसम पनि छन् र हेर्दा काफिया ठीकै लाग्छन् । तर काफियाको नियम अनुसार अलंकार र गजल दुईशब्द यहाँ श्रुतिसम नभएकोले पछाडिका +कार मात्र मिल्दैमा काफिया दोषमुक्त हुँदैन । यसलाई इतादोष भनिन्छ ।

जितेकाछन् मन पनि देशका इमानदार पनि ।
अब गरीब कहाँ छन् र सबै गजलकार पनि ।

यसो गरेमा ‌+दार र ‌+कार काफियाको नियममा छन् । अरु काफिया +सार +पार +धार +चार आदि प्रयोग गरे इतादोष मुक्त भइन्छ ।

भन तिम्रो पजेरो त्यो गाडी कहाँ गयो ।
तिम्रो फुर्तिरवाफ पनि छाडी कहाँ गयो ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित

यसमा पनि छाडी र गाडीमा कुनै इतादोष छैन । किनभने पहिलो पूर्ण शब्द हो र दोस्रो छाड भन्ने क्रियाको बढाइएको शब्द हो । यदि दुवै बढाइका शब्द भएका भए (गाडी vehical नभएर गाढी = गाढ + ई) भएका भए इतादोष हुने थियो । कहलिएका गजलकारहरु पनि इतादोष मुक्त छैनन् । ठूला गजलका उस्तादहरु पनि इतादोषयुक्त गजल लेखेकाछन् । यसमा उप-नियमहरु पनि नजानी हामीले दोषमुक्त गजल लेख्‍न मुश्किल नै छ भन्नुपर्छ ।


क­. मतलामा दुवै विशुद्ध मूल शब्द हुनु पर्ने – जस्तै रात, मात, जात, लात, घात
ख. एक मूल शब्द र दोस्रो बढाइएको (मात लाई माती बनाए झैं) का शब्दहरु माती, जाती
ग. दुवैको बढाइएको शब्द - जस्तै: जाति र राती

फूलहरु झर्ने यस्तो मौसममा बागैमा राखेर हुन्न ।
मनैमा ठाउँ छैन भनेर आँखैमा राखेर हुन्न ।

माथिका काफियामा बागैमा र आँखैमा शब्द दुवै बढाइका शब्द हुन् र ती बढेका अंश निकालिए भने बाग र आँख शब्द बाँकी हुन्छन् जुन तुकान्त शब्द हैनन् यसैले इतादोषयुक्त भयो यो गजलको मतला । जुन कुरा माथि पनि भनिइसकिएकोछ ।

ओंठले गाउ मेरो मायालाई भाखैमा राखेर हुन्न ।
मनैमा ठाउँ छैन भनेर आँखैमा राखेर हुन्न ।

माथिका काफियामा भाखैमा र आँखैमा शब्द दुवै बढाइका शब्द हुन् र ती बढेका अंश निकालिए भने भाख र आँख शब्द बाँकी हुन्छन् जुन तुकान्त शब्द हुन् र यसैले दोषमुक्त भयो यो गजलको मतला ।

यी त केही सामान्य कुरा भए । तर काफियामा अन्य धेरै नियम उपनियम भएका हुँदा यहाँ सबै समेट्न गार्‍हो होला ।
गजललाई साधनाको रुपमा लिएर गजल लेखनमा लाग्न काफिया मात्र हैन यसका नियम उपनियम, यति, गति, बहर र मुख्यत: गजलका भावमा हुनुपर्ने चमत्कारी तत्वले एक पूर्ण गजल बनाउँछ । मात्र काफियालाई कसरी मिलाउँ भनेर गजल लेखनमा लाग्दा संख्यात्मक रुपमा गजल बढ्लान् तर गुणात्मक या स्तरीय गजलको आशा कमै गर्न सकिएला ।

गजल महासागर हो । छेउमा पानी छोएर सागर छोएँ भन्न मिल्ला तर सागरमा डुबुल्की मार्न हामीले धेरै नै सिक्न बाँकी छ । हामी सबै सिक्दैछौं तर सिकेका कुरा बाँड्न कञ्जुसी गरेनौं भने नेपाली गजलको स्तर अझै बढेर जाने पक्का छ ।

--------------------------------------

© २०६७, करुण थापा, सर्वाधिकार सुरक्षित