Sunday, May 29, 2011

गजल:-रानी भयौ तिमी आज - अज्ञात पाल्पाली

घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग -१२  लागि मैले गजल  यसरी लेखेँ  'घायल '  जी ! लाई धन्यबाद

गजल: दलबीर सिंह बराइली 'घायल'
मिसरा: हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज
काफिया:बानी
रदिफ: भयौ तिमी आज
लय: हिजै लाग्छ/ मुटु साट्या// बानी भयौ/ तिमी आज
४+४+४+४=१६


मेरो सानो संसारको रानी भयौ तिमी आज
सबै भन्दा धरै प्यारी नानी भयौ तिमी आज


मिसरा-ए-उला भएँ तिमी बिना अधुरो म
यो शेरमा मिसरा-ए-सानी भयौ तिमी आज


पानी प्यास लाग्या हैन जवानीको प्यास लाग्या
जवानीको प्यास मेट्ने पानी भयौ तिमी आज

मन मुटु साटेको नि बर्षौं  बिती सक्दा पनि
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज

सबै तिम्रो कुरा गर्छन् तिम्रै चर्चा जता ततै
धर्ती भरि सौन्दर्यकी खानी भयौ तिमी आज


अज्ञात पाल्पाली

Thursday, May 26, 2011

गजल - " पानी चल्दैन किन " -अज्ञात पाल्पाली

गजल - " पानी चल्दैन किन " -अज्ञात पाल्पाली

कसैको चुल्हो जल्दैन किन ?
कसैको पानी चल्दैन किन ?

जनता झनै थिचिँदै छन
सामन्ती जरा ढल्दैन किन ?

बियोग यस्तो देखेर पनि
निर्दयी मन गल्दैन किन ?

बुद्धको देश अशान्त देख्छु
शान्तिको दियो बल्दैन किन ?

नेपाली हामी नेपाल हाम्रो
मित्रता यहाँ फल्दैन किन ?

अज्ञात पाल्पाली

Monday, May 23, 2011

घायलको तरही मुसायरा भाग -११

 
गजल: कल्पना अवस्थी 
मिसरा: आँसु बगी पीडाहरु गलेपछि के को चासो
काफिया: गलेपछि
रदिफ: के को चासो
लय: आँसु बगी /पीडाहरु//गलेपछि /के को चासो
४+४+४+४=१६

सुख दिँदा दु:ख खोजी दलेपछि  के को चासो
रहरका खम्बाहरु ढलेपछि के को चासो

आफ्नै सम्झी पछी लागेँ छोप्न अझै सके छैन
आफ्नै मान्छे छाँया बनी छलेपछि के को चासो

प्रियसीको प्रतिक्षामा मन्को दीयो बाली बसेँ
मन्को दीयो राँको बनी बलेपछि के को चासो

सम्झी सम्झी रुँदा रुँदा गले सबै पीडा पनि
आँशु बगी पीडा हरु  गलेपछि के को चासो

सोध्ने गर्थ्येँ सधैं मैले तिम्रो ईच्छा के छ भनी
तर तिम्रो चहाना नै जलेपछि के को चासो

अज्ञात पाल्पाली

Tuesday, May 17, 2011

गजल - " गुण्डा सँग तिम्ले किन ।। "

गजल - " गुण्डा सँग तिम्ले किन ।। "

गुण्डा सँग तिम्ले किन साँठगाँठ गर्छौ नेता
उच्च राख छवि आफ्नो किन तल झर्छौ नेता

राजनेता बन्न सिक तिम्रो जिम्मा हामी लिन्छौं
दुई झाप्पु मात्रै न हो कति सार्है डर्छौ नेता

भोट माग्ने बेला भने सर्बहारा हुँ म भन्छौ
जितीसके पछी भने महलमा सर्छौ नेता

सधैं भरि खुरापाती चल्ने छैन सोँच्दै गर
त्यसैले त पार्टी भित्रै विवादमा पर्छौ नेता

शाहिदको सपनामा जनताको भावनामा
खेलवाड गर्यौ भने अकालमै मर्छौ नेता

अज्ञात पाल्पाली 

Saturday, May 14, 2011

भाग -१०

घायलको तरही मुसायरा सफलताको कामना गर्दै भाग -१० लागि मैले गजल  यसरी लेखेँ अमर जी ! लाई धन्यबाद ।
गजल: अमर सरोबर  
मिसरा: रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु
काफिया: मारिदिए
रदिफ: हुन्थ्यो बरु
लय: रुवाएर /राख्नु भन्दा //मारिदिए /हुन्थ्यो बरु
४+४+४+४=१६

त्यो ओठको हाँसो यता, सारिदिए हुन्थ्यो बरु
बोक्ने थिएँ पिरतीको, भारिदिए हुन्थ्यो बरु

चिन्ता छैन कत्ति पनि, कतै दु:ख पर्ला भनी
जाने थिएँ तिमी संगै, तारिदिए हुन्थ्यो बरु

आकाशका जुन तारा, झारिदेउ भन्दिन म
मेरा पीडा संगै आँशु, झारिदिए हुन्थ्यो बरु

यति धेरै यति मिठो, चोखो माया दिँदा पनि
अशुद्ध झैं लाग्छ भने, खारिदिए हुन्थ्यो बरु

एकपल माया दिन, रुवाएर राख्छौ किन
रुवाएर राख्नु भन्दा, मारिदिए हुन्थ्यो बरु

अज्ञात पाल्पाली

Sunday, May 8, 2011

गजल- विष पिइ मर्छु बरु

गजल - "विष पिइ मर्छु बरु " अज्ञात पाल्पाली

मिसरा -तिमी लाई/ साथ दिन/ जस्तै दु:ख/ गर्छु बरु
काफिया - गर्छु
रफिद - बरु
लय - ४+४+४+४= १६

तिमी लाई साथ दिन जस्तै दु:ख गर्छु बरु
यदि छोडी गयौ भने विष पिइ मर्छु बरु

फुल बनी फुली दिन्छु चुमे चुम्ला भमराले
पतेरोले छुन खोजे त्यति बेलै झर्छु बरु

सबै भन्दा प्यारो लाग्ने जन्म ठाउँ भए पनि
जन्म ठाउँ छोडी दिन्छु बास त्यतै सर्छु बरु

आँधी हुरि बतासको डर छैन जङ्घार को
जङ्घार नै मात्रै किन सागर नै तर्छु बरु

भगवान मानी मैले पुजा गर्छु तिमी लाई
भक्त बन्छु सधैं तिम्रो शरणमा पर्छु बरु

अज्ञात पाल्पाली

Saturday, May 7, 2011

गजल

'गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु।
गजलका तत्वहरु
(क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर
१. शेर
दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ।
सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजलगोले कम्तिमा ३ वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ तर एकदम कम शेर र एकदम अधिक शेरलाईपनि राम्रो मनिन्दैन तसर्थ ५ वटा शेर भएको गजललाई आदर्श गजल मान्ने गरिन्छ ।
२. काफिया
समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि वारम्वार दोहोरिएर आऊने शव्दनै काफिया हो । काफिया शव्दको अर्थ अरवी भाषामा पनि 'वारम्वार आऊने' नै हुन्छ र हामीले यो बुझ्नु आवश्यक छ कि गजल् विधा अरब,फारस,हिन्दुस्तान हुदै नेपालमा भित्रिएको बिधा हो।तसर्थ अरबी भाषामा 'वारम्वार आऊने' वा काफिया गजलको त्यो तत्व हो जुन तत्व बिना गजल अधुरो हुन्छ,गजल भन्ने बिधाको अलग्गै पहिचान हुदैन, अझ यसो भनौ काफियानै गजलको मुटु हो । गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो ।
काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(क) पूर्ण काफिया
(ख) अंशिक वा शाव्दिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया
पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ, इत्यादी,
पूर्ण काफिया प्रयोग गरिएर लेखिएको गजलको एउटा उदाहरण हेरौं

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो

साभार: एउटा बन्द खाम (ललिजन रावल)

आंशिक/शब्दांश काफिया:
कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी ।
उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ भने प्रहारको "प्र" आधारको "आ" बिचारको "बि" सरोकारको "सरो" र अवतारको "अव" ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि
अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिएको हो।

आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण:

वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु

आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु

पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छु म जङ्घारमा बसेको छु

शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु

साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज
महलभन्दा ठुलो यो कारागारमा बसेको छु

साभार: पदम गौतम (एकलाशको फूल)

उपरोक्त गजलमा संसारको 'सं', जङ्घारको 'जङ्',वजारको'व'कारागारको 'कारा'ले काफियाको काम गर्दैन तसर्थ यस्ता काफिया आंशिक वा शब्दांश काफिया
अन्तर्गत पर्दछन्।
(ग)एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शव्दको अन्तमा काफियाको रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ।
एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरी हालौं ।

व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर

आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर

मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ,मसी खोजूँ कतातिर

आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा
चट्टानझैं अडिग जिन्दगी खोजूँ कतातिर

यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने रवि खोजूँ कतातिर

रवि प्राञ्जल (उही बाढी उही भेल)

माथिको उदहरणमा 'सी','दी','री','गी','पी' आदि एकाक्षरी काफिया हुन् ।

'घ' मिलित काफिया: पूर्ण काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको छन् भने त्यस्तो काफियालाई मिलित काफिया भन्ने गरिन्छ।

जस्तै: वनी,दन्दनी,फन्फनी,हुन्छ नी,आदि
मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं

तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचन वाणले नहिर्काउ यति सारो कठोर वनी

जव अलिकति शीतल अनुभूति गर्न थाल्छु
तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी

थोरै मात्र भए पनि खुला राख दिल साथी
दयामाया भन्ने कुरा मान्छे भित्रै त हुन्छ नी

आऊ यात्रा गर्न सिक मानवीय धरातलमा
के पाउँछौ कसैलाई फसाउने खाडल खनी

उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा
कसैका हो बुध तिमी,मेरो लागि भयौ शनि

माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ
इमानको सौदा गरी बन्दै छौ कि महाधनी

डा।घनश्याम परिश्रमी(जून चुहेको रात)
माथिको गजलमा काफिया बनेर आएका 'पनि','वबी','दन्दनी','हुन्छ नी', 'शनि','खनी' र 'महाधनी' मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ।
यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको बिभिन्न स्वरुपहरुवारे चर्चा पछी अव रदिफ को पनि केही चर्चा तल गरिएको छ ।
रदिफ: गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वा पहिचानको निम्ति काफियापछि निरन्तर दोहोरिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। गजललाई साँगीतिक बनाउनु वा अलग्गै विधा भनेर छुट्ट्याउने कार्यको लागि रदिफको महत्व पनि कम आँक्न मिल्दैन। अझ कुनै कुनै गजल विद्वानहरुले काफिया भन्दा पनि रदिफलाई बढी महत्व दिएर लेखेको पाइन्छ,त्यसैगरी हामीले पढ्ने,लेख्ने,सुन्ने वा गाइने गजलहरुमध्ये अधिकांश गजलहरुमा रदिफको प्रयोगले पनि रदिफको महत्व बुझ्न सकिन्छ। यति हुँदा हुदै पनि रदिफ बिनाका गजल पनि पर्याप्त मात्रामा भेटिन्छन्।
गजलविधामा रदिफयुक्त गजललाई मुरद्दफ गजल र बिना रदिफका गजललाई गैरमुरद्दफ गजल भन्ने गरिन्छ।
त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले विभाजन गर्न सकिन्छ।
१.पदमूलक रदिफ
२.पदावलीमूलक रदिफ
३.वाक्यात्मक रदिफ
(क)पदमूलक रदिफ: रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ।
जस्तै:

सिक्री वने जस्तै गाडीहरुको लाम छ
सायद जुलुस आउँदैछ सडकै जाम छ

हतारोमा छु म,मैले पुग्नु छ टाढा
कसलाई सुनाऊँ कि मेरो जरुरी काम छ

विभाजनको रेखा अझै गाढानै देख्छु
रहीम छ कसैको अनि कसैको राम छ

मानूँ त कसरि मानूँ,नमानूँ कसरि
यहाँ इज्जत भन्दा धेरै महँगो दाम छ

इमान साँचेर नै के भो,हो भने यस्तै
वेइमानहरुको सूचीमा मेरो नै नाम छ

डा.घनश्याम परिश्रमी(जून चुहेको रात)
उपरोक्त गजलमा रदिफको रुपमा केवल "छ" शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छ तसर्थ यस्तो गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदमूलक रदिफ मा राख्न सकिन्छ।
(ख)पदावलीमूलक रदिफ:गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक रदिफ भन्ने गरिन्छ।
उदाहरणको लागि वियोगी बुढाथोकीको एउटा गजल हेरौं।

भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ

वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ

दन्किएको वैंसको आगो सल्काऊ कसरी
उमेरको यो इच्छा-शक्ति मरे जस्तो छ

नदेखिईनै मनको घाउ दुख्छ जसरी
भन्न हुन्न प्रेमको जालमा परे जस्तो छ

साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त
बाडुलीमा परें मेरै कुरा गरे जस्तो छ

वियोगी बुढाथोकी(गजल तिम्रो नाम होइन)
यो गजलमा प्रस्तुत रदिफ "जस्तो छ" दुई शव्द मिलेर बनेको छ,यस अर्थमा यस गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदावलीमूलक रदिफ भित्र रहेको बुझ्न सकिन्छ।
(ग)वाक्यात्मक रदिफ:गजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ।
वाक्यात्मक रदिफको उदाहरणको रुपमा मिजास तेम्बेको एउटा गजल:

निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ
यौटै पत्र पाउनु भएन, हजुरको ढोकासम्म आएँ

मुखमा राम राम,बगलीमा छुरा भन्छन्
कैले मनमा छाउनु भएन,हजुरको ढोका सम्म आएँ

यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क
चोखो माया लाउनु भएन,हजुरको ढोका सम्म आएँ

आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो
कतै पनि धाउनु भएन,हजुरको ढोका सम्म आएँ

काग कराउदै गर्छ,पिना सुक्दै गर्छ
जीवनको गीत गाउनु भएन,हजुरको ढोका सम्म आएँ
मतला:
गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला र दोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने गरिन्छ तर गजलको प्रारम्भको शेरलाई भने मतला भनिन्छ अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक हुन्छ,अन्यथा त्यो मतला नभएर शेर मात्रा बन्न जान्छ तसर्थ कम्तिमा दुवै मिसरामा काफिया हुनु भने जरुरीनै हुन्छ । यदि गजल मुरद्दफ छ भने काफिया संगै रदिफ पनि आउने गर्दछ र गजल गैरमुरद्दफ छ भने काफिया मात्रै भए पनि मतला भने बन्न सक्दछ ।
कुनै कुनै गजलकारले एउटा मात्र नभई दुई दुई वटा मतला सिर्जना गर्दछन्,यसरी दुई दुई वटा मतला आएमा पहिलो मतलालाई मतला-ए-उला र दोश्रो मतलालाई मतला-ए-सानी वा हुस्ने-मतला भन्ने गरिन्छ।
मतलाका केहि उदाहरणहरु
"तिमीलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचनवाणले नहिर्काउ यति सारो कठोर वनी"
"धनमाया पहेंला ती सबै सुन होइनन्
मनमाया उजेला ती सबै जून होइनन्"
मकता:
गजलको अन्तिम शेर वा टुङ्ग्याउनीलाई मकता भनिन्छ।
कुनै कुनै विद्वानहरुले तखल्लुसयुक्त(उपनाम)अन्तिम शेरलाई मात्र,मकता भनिने अवधारणा राखेका भए पनि संरचनाको आधारमा र गजलको अन्तिम शेर गजलगोले आफ्नो सम्पूर्ण वयान वा भनाई टुङ्ग्याएको अर्थमा सिर्जना गर्ने भएकोले तखल्लुसयुक्त अन्तिम शेर मात्र होइन,तखल्लुस बिनाको अन्तिम शेरलाई पनि मकतानै भनिन्छ।

नेपाली गजल डट काम बाट ( http://www.nepaligazal.com/ )

Friday, May 6, 2011

गजल:-मुटुभित्र उर्लिएको छाल थाहा पाउँ

मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
काफिया: छाल
रदिफ: थाहा पाउँ
लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
४+४+४+२=१४
प्रिय तिमी जन्मिएको साल थाहा पाउँ
सन्चै छौ की बिसन्चो छौ हाल थाहा पाउँ

तिमी लाई भेट्न पाएँ खुशी लाग्यो धेरै 
हाम्रो भेट गराउने काल थाहा पाउँ 

अधरमा लाली देखेँ सोध्न मन लाग्यो
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ 

मादलको ताल संगै सार्है राम्रो नाँच्यौ
तिमी नाँच्ने मादलको ताल थाहा पाउँ

मौका फेरि आउँदैन जाने भए जाउँ 
नबोलेर बस्छौ किन चाल थाहा पाउँ 

अज्ञात पाल्पाली

गजल: -मुटुभित्र उर्लिएको छाल थाहा पाउँ

आनन्द जी  ! लाई धन्यबाद अनि घायलको तरही मुसायराको सफलताको कामना गर्दै भाग -९  को लगि मेरो गजल यसरी लेखेँ
 
गजल: आनन्द श्रेष्ठ

मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
काफिया: छाल
रदिफ: थाहा पाउँ
लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
४+४+४+२=१४

प्रिय तिमी जन्मिएको साल थाहा पाउँ
सन्चै छौ की बिसन्चो छौ हाल थाहा पाउँ

तिमी लाई भेट्न पाएँ खुशी लाग्यो धेरै 
हाम्रो भेट गराउने काल थाहा पाउँ 

अधरमा लाली देखेँ सोध्न मन लाग्यो
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ

मादलको ताल संगै सार्है राम्रो नाँच्यौ
तिमी नाँच्ने मादलको ताल थाहा पाउँ

मौका फेरि आउँदैन जाने भए जाउँ 
नबोलेर बस्छौ किन चाल थाहा पाउँ 

अज्ञात पाल्पाली

Wednesday, May 4, 2011

हाइकू - " पाँच हाइकूहरु "- अज्ञात पाल्पाली

हाइकू - " पाँच हाइकूहरु "- अज्ञात पाल्पाली
 १
सोच्नै सकिन
कसरी आउछ खै
समुन्द्री आँधी

समय  संग
कस्को के लाग्छ र
उसैले जित्यो

अमुल्य धन
आफ्नै आँखा अगाडि
बगाई लग्यो

न त रोकिन्छ
नछेकेर छेकिन्छ
सोनामी  छाल

यौटा  बालक
धेरै रोइ रहेछ
आमाको खोजी

अज्ञात पाल्पाली


.

Sunday, May 1, 2011

मेरो कृति

मेरो कृति - कविता र गीत संग्रह " भावना मनको " बिमोचन  अबसर का तस्बीरहरु