Saturday, June 23, 2012

गजल -- .......पनि राजी छु म

गजल

भन तिम्ले जस्तै दु:ख गर्न पनि राजी छु म
पारे पार तिम्रै जाल्मा पर्न पनि राजी छु म

मेरो माया लाग्छ भने बिन्ती गर्छु तिमीलाई
आउ लिन सयौं खोली तर्न पनि राजी छु म

साथ दिए सधैं भरी मुटु भित्र माया साँच्दै
त्यै डालीमा फूली फेरी झर्न पनि राजी छु म

यदि तिम्ले शँका गरे मेरो चोखो मायालाई,
देह त्याग्दै आफ्नै प्राण हर्न पनि राजी छु म

बाँचा गर्छु जूनी जूनी संगै बाँच्ने संगै हाँस्ने
मर्नै पर्छ भने देखि मर्न पनि राजी छु म

                                                                            गंगा

Tuesday, June 12, 2012

गजल -- तिमी अँधेरीमा आऊ


गजल

भेट्ने चाह भए तिमी अँधेरीमा आऊ
पर्खी बस्छु बाटो हेरी पधेरिमा आऊ  


कोइली झैँ भाका तानी मधुर ति स्वर
 वनै भरि फैलाउदै सुस्केरीमा आऊ


हाम्रो प्रेम देखि सबै डाह गर्न थाले
टाडा रहुँ ति नजरमा पखेरिमा आऊ


जहाँ यस्तो ठाउँ होस हाम्रो माया मौलाउन्
सुस्त पवन संगै खेलौ सल्लेरीमा आऊ


दुख सुख गरि खाऊ मरे संगै मारौला
घर छोडी मेरो दिलको मझेरीमा आऊ


पिवन कन्दङ्वा लिम्बू 
आठराइ- छातेढुङ्गा- तेह्रथूम

Tuesday, May 22, 2012

गजल-- बिहानी हेर

गजल

बलेकै   थियो  बिहानी हेर
आलै छ घाउँ निशानी हेर ।

जलेकै हुन , गाउँ र  बस्ती
भेट्टीन्न आज खरानी हेर ।

मारिए आफ्नै, मारे आफ्नैले
जीवन्त बन्यो,कहानी  हेर ।

सक्दैन थम्न, ढल्छ मुढा झैँ
लाशकै हाल्छ सिरानी हेर ।

नेपाली  हैन , देशद्रोही  थ्यो
न्यायको सस्तो ,किटानी हेर ।

सेना थियो कि , बिद्रोही थ्यो ऊ  
बस्दिने को छ,जमानी हेर  ।

गुमायो अंग,ज्यान छ आधा
रित्तीयो बैश ,जवानी हेर ।

पिल्सिन्छ चोट,मलम   छैन
खै दिन्छ कस्ले ,लगानी हेर ।

आशाको छैन कुनै किरण
आँखामा शुन्य बिरानी हेर   ।
                                                            निर्मला खड्का