Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, January 3, 2016

गजल : - आफ्नै मुटु दुखी दिदा

 गजल

आफ्नै मुटु दुखी दिदा, मरुँ मरुँ जस्तो लाग्छ 
आफै भित्र काल बिष, भरुँ भरुँ जस्तो लाग्छ 


आफ्नै मान्छे पराई भए, आफ्नै ठाउँ बिरानो भो
बरु बास अन्त कतै सरुँ सरुँ जस्तो लाग्छ
आफै भित्र काल बिष, भरुँ भरुँ जस्तो लाग्छ


तिम्रो सामु फूल जून, फिक्का फिक्का लाग्छ सबै
तिम्रै माया प्रित जालमा परुँ परुँ जस्तो लाग्छ
बरु  बास  अन्त कतै  सरुँ सरुँ  जस्तो  लाग्छ


मग्मगाउदै फुल्न खोजें, बेमौषममा परेछु कि
फुल्नु पर्ने ओईलिदै छु झरुँ झरुँ जस्तो लाग्छ
तिम्रै माया प्रित जालमा परुँ परुँ जस्तो लाग्छ


कि आजद कि बर्बाद, कि मूर्दा म कि ज्यूँदो म
जे जे पर्छ यौटा काम गरुँ गरुँ जस्तो लाग्छ
फुल्नु पर्ने ओईलिदै छु  झरुँ  झरुँ जस्तो  लाग्छ

अज्ञात पाल्पाली

Saturday, April 28, 2012

गजल --- नेपाल छ

गजल

विश्व मान चित्र भित्र एउटा देश नेपाल छ
सधैं भरी आपस मा कलहले  बेहाल छ

गरि खाने भन्दा पनि चन्दा मागी खाने धेरै
जता ततै डर धम्की आतंक को सन्जाल छ

सुकिला र मुकिला ति झट्ट हेर्दा राम्रा लाग्ने
सम्पत्ति को धनी तर बिचार मा कंगाल छ

सेतो कालो परिभाषा ब्यक्ति पिच्छे बेग्ला बेग्लै
बुद्धिजिबी हरु बिचै यस्तो किन बेताल छ

गास बास शिक्षा दीक्षा सबै दिन्छौं भन्छन् भन्न
भड्काउने भाषण यो सुन्दा लाग्छ कमाल छ

 अज्ञात पाल्पाली

गजल ---- आउ प्रिय

गजल ---- आउ प्रिय 
सागरको किनारमा , पर्खी बस्छु तिमी लाई, भेट्न  भनी लुकी लुकी, बगरमा आउ प्रिय
एक्लै हुन पर्‍यो भने, यात्रा गर्न गार्हो हुन्छ, साथी बनी साथ दिन, सफरमा आउ प्रिय

शहर मा घुम्न जाऊँ , रमाउदै झुम्न पाऊँ, हर पल हर क्षण, हाँसी हाँसी  काट्न पाऊँ
यतै राम्रो उतै राम्रो ,जति घुम्यो घुमु लाग्ने, झिलिमिली रमाइलो, शहरमा आउ प्रिय

दु:खै काट्नु परे पनि, सुखै साँट्न पाए पनि, मात्रै तिमी संगै साँट्ने,यौटै मेरो रहर छ
तिमी बिना अधुरो छु, तिमी बिना अपुरो छु, मेरा सारा अधुरा यी , रहरमा आउ प्रिय

म हुँ सिता राम तिमी, शिसिर को घाम तिमी, ताप देउ राप देउ, मेरा अंग अंग भरि
तापी रहुँ जस्तो लाग्ने, पहारिलो घाम बनी ,सुनौलो यो बिहानी को, प्रहरमा आउ प्रिय

तिमी छैनौ संसार नै, छैन जस्तो लाग्छ अनि, त्यसैले त आँखा हरू, बन्द गरि बस्ने गर्छु
हेर अब आई  सकेँ, यदि तिम्ले  भन्छौ भने, आँखा खोली हेर्छु मैले, नजरमा आउ प्रिय  


अज्ञात पाल्पाली

Sunday, April 22, 2012

गजल - फूल मेरी आमा !

गजल - आज माता तिर्थ औंसी आमा लाई यसरी सम्झिएँ

संसार कै सुन्दर यौटा फूल मेरी आमा!
पुर्णिमा मा उदाउने जून मेरी आमा!

जलप को कुरै छोड कसी पनि पर्दैन्
सम्झे हुन्छ अकबरी सुन मेरी आमा!

कुनै दिन कमी छैन उन्को ममता मा
माया अनि ममता की मूल मेरी आमा!

बोली सुन्दै रमाउछु काख् मा निदाउछु
मन्त्र मुग्ध बनाउने धुन मेरी आमा!

पाउ पर्छु सेवा गर्छु सधैं यसै गरि
कहिल्यै नि पर्ने छैन रुन मेरी आमा!

अज्ञात पाल्पाली

Thursday, April 5, 2012

गजल

गजल

ठाडो घाट जङ्घार मा, छोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?
दोबाटोमा यात्रा अन्तै, मोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

पिरतीको चिनो भनी, रोपेका थ्यौं फूल्को बोट, फुल्ने बेला हुँदै थियो
फुल्नै अघि जरै देखि, गोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

स्वयंवर् को घुम्टो पनि, बाहनामा फ्याँकी दियौ, जे जे गर तिम्रै खुशी
पराई को जुठो  घुम्टो, ओढी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

सयौं सयौं जुनी सम्म, तिम्रै हुँ म भने पनि, झुठो रै'छ उन्को कुरा
यता हैन उता नाता, जोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

भगवान साक्षी राखी, बाँचा गरी तोड्ने सँग, कस्को के नै लाग्दो रै'छ
गरेका ती बाँचा सबै, तोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

अज्ञात पाल्पाली

Thursday, March 29, 2012

गजल

गजल

आजै जान्छु भोली देखि बिहानीमा खोजे प्रिय !
अब सधैं बियोगान्त कहानीमा खोजे प्रिय !

नाता तोड्ने मौन चाह मैले चाल पाई सकेँ 
छिट्टै फेरी अर्को साथी जवानीमा खोजे प्रिय !

बिपनी मा नदेखे नी सपनिमा देख्न सक्छौ
देख्यौ भने ब्युँझिएर सिरानीमा खोजे प्रिय !

सधैं भरी तिमीलाई गल्ति मेरै जस्तो लाग्ला
एक पल्ट फर्की आफ्नै बैमानीमा खोजे प्रिय !

यदि यौटै लक्ष्य तिम्रो बाँकी अस्तु हेर्ने भए
मेरो लास जले पछि खरानीमा खोजे प्रिय !

अज्ञात पाल्पाली

गजल ....

गजल

ज्ञानको ज्योति बालेर हेर
रिस र राग फालेर हेर

पागल बन्छ भ्रममा मान्छे
भ्रम को खम्बा ढालेर हेर

संसार आफै सुन्दर देख्छौ
माया र स्नेह पालेर हेर

फरक हुन्छ सुनको जात
नम्बरी हो की गालेर हेर

शुभ छ काम बिस्तरै किन ?
यति नै बेला थालेर हेर


  ©  सर्वाधिकार     अज्ञात पाल्पाली

Sunday, March 4, 2012

गजल

गजल

मलाई नै खोज्दै कुनै शहरमा छौ कि ?
माछी जस्तै छट्पटिंदै बगरमा छौ कि ?

धर्ती भरि कतै पनि तिम्रो स्वर छैन
बादल झैं मडारिंदै सगरमा छौ कि ?

तल तल खोजी रहेँ मोती  भनी मैले   
तर तिमी माथी माथी लहरमा छौ कि?

असिमित तिम्रा चाहा बढ्दै होला अझै
 मृग तृष्णा  पुरा गर्ने रहरमा छौ कि ?

अन्तिममा बाँकी अब विष मात्रै रह्यो
खाई हेर्छु एक फेर जहरमा छौ कि ?

अज्ञात पाल्पाली

गजल

दिब्य दृष्‍टि  हजुर कै नजरमा छु म
ऐना ल्याई हेर्नुहोस् त अधरमा छु म

धर्ती भरि चर्चा मेरो आकाशमा बास
सन्ध्या संगै उदाउँछु सगरमा छु म

माछी हुँ म पानी बिना कसो गरि बाँचु ?
पर्खी र'छु तड्पी तड्पी बगरमा छु म

छाल बनी उर्लिंदैछु मैले पनि खोज्दै
तल हैन माथी माथी लहरमा छु म

मेरो पनि उस्तै चाहा भेटुँ भेटुँ ला'छ
जहरमा नखोज्नु है रहरमा छु म

अज्ञात पाल्पाली

Sunday, February 26, 2012

गजल

भरौटे ले खेदो गरे जागिर् त्याग्नु पर्ने भयो
नुन् को सोझो गर्दा गर्दै माफी माग्नु पर्ने भयो

कानुनको के काम भो दण्डहिन्ता बढे पछी
देश भित्रै हराएको न्याय डाक्नु पर्ने भयो

राम्रो गर्दा खेरी पनि दोष लाग्छ त्यसै त्यसै
डकैती ले राज गर्दा हामी भाग्नु पर्ने भयो

उही चोर ठुलो स्वर त्यहि चल्छ किन यहाँ
भ्रस्टचारी  त्यो मुहार याद् राख्नु पर्ने भयो

सत्य सेवा सुरक्षणम्  नारा मात्रै हुने भयो
सत्य सेवा छोडी अर्कै बाटो लाग्नु पर्ने भयो

अज्ञात पाल्पाली

Saturday, February 18, 2012

गजल - बारुद् भर्दै भर्दै गए

भरुवा त्यो बन्दुक मा बारुद् भर्दै भर्दै गए
गाऊँ गाऊँ बस्ती बस्ती पर्चा छर्दै छर्दै गए

घर छोडी बन तिर बन छोडी महल मा
यस्तै रै'छ उन्को चाल बास सर्दै सर्दै गए

निमुखा को वर्ग युद्ध तानाशाह हरू बिच
जनमुक्ति हुन्छ भन्दै कति मर्दै मर्दै गए

खुबै चल्यो धन्दा पनि निकै उठ्यो चन्दा पनि
नदिने को गास अनि बास हर्दै हर्दै गए

सडक मा यौटा कुरा सदन मा अर्कै कुरा
यसरी नै सधैं झूठ्को खेती गर्दै गर्दै गए

अज्ञात पाल्पाली

Sunday, January 29, 2012

गजल

गजल

रंगिन यो रात भरि, तिमी र म हुन पाए, कस्तो हुन्थ्यो होला
माया गर्दै रंग भर्दै, अंग अंग छुन पाए, कस्तो हुन्थ्यो होला

आफू लाई चाँदि छैन, कसैलाई सुनै सुन, पनि हुदो रै'छ
त्यसै गरि मैले पनि, चाँदि खोज्दा सुन पाए, कस्तो हुन्थ्यो होला

प्रकृति को रित यस्तै, दिन अनि रात जस्तै, जुन पनि त्यस्तै
सधैं भरि उज्यालो त्यो, पुर्णिमाको जुन पाए, कस्तो हुन्थ्यो होला

बिरहले छाती पोल्छ, साथी भाई चर्को बोल्दा, आफू एक्लै हुँदा
यस्तो बेला मनै हर्ने, बाँसुरी को धुन पाए, कस्तो हुन्थ्यो होला

जिन्दगी को गोरेटोमा, हाँस्दा संगै रुँदा एक्लै, हुनु परेको छ
रुँदा पनि तिमी संगै, आँशु पुछ्दै रुन पाए, कस्तो हुन्थ्यो होला

अज्ञात पाल्पाली

Thursday, January 19, 2012

गजल - "आनन्दै छ जिन्दगी "

धन पैसा  कमाउदा आनन्दै छ जिन्दगी
संग संगै रमाउदा आनन्दै छ जिन्दगी

जङ्घार मा  साथ दिने मेरी यौटी प्रियसी
उन्ले हात समाउदा आनन्दै छ जिन्दगी

भाग्य रेखा बनाउछु अब यहि  बेलामा
आफ्नै भाग्य बनाउदा आनन्दै छ जिन्दगी

दु:खमा नै हाँस्न सिकेँ दु:खमा नै रमाएँ
खुशीयाली मनाउदा आनन्दै छ जिन्दगी

हरपल  हरक्षण  साथ  दिए सबै ले
सहमती जनाउदा आनन्दै छ जिन्दगी

Wednesday, August 24, 2011

गजल

गजल

म हुँ गजल्कार
उहाँ कलाकार

यस्तो त्यस्तो भन्दै
भन्नु नै बेकार

आत्म उस्तै हुन्छ
यौटै हो प्रकार
 
खै त संबिधान
नेपाल् सरकार

ब्यर्थै भो यिनको
जय जयकार 

Wednesday, August 3, 2011

गजल - जान्दा जान्दै बिग्रिएँ म

गजल - अज्ञात पाल्पाली

यस्तै हुन्छ भन्ने कुरा जान्दा जान्दै बिग्रिएँ म
उनी लाई आफ्नो मान्छे ठान्दा ठान्दै बिग्रिएँ म

म त परेँ सार्है सिधा दाँया बाँया आउदैन
जे जे भन्छे त्यहि त्यहि मान्दा मान्दै बिग्रिएँ म

साथ दिन्छु भन्ने हरु कति आए कति गए
एक पछी अर्को गर्दै छान्दा छान्दै बिग्रिएँ म

मोहिनी को चाल उस्तै हेर्दा हेर्दै मात लाग्ने 
बेहोशीमा उस्को हात तान्दा तान्दै बिग्रिएँ म

Thursday, July 28, 2011

गजल

गजल

एक्लै पारी छोडी गयौ
बाँचा पनि तोडी गयौ

आफ्नै भनी सम्झी रहेँ
अन्तै नाता जोडी गयौ

विश्वासको फूल रोपेँ
जरै देखि गोडी गयौ

किनी दिएँ घुम्टो मैले
अर्कै सँग ओढी गयौ

युगौं युग साथ भन्थ्यौ
यात्रा किन मोडी गयौ ?

अज्ञात पाल्पाली

Thursday, July 14, 2011

गजल

गजल

जस्को पायो उस्कै हात समाएर गर्नु गर्यौ
खुले आम सडकमा रमाएर गर्नु गर्यौ

कति तिम्रो भर परे कति धोका पाई मरे
सबै लाई यस्तै बाँचा थमाएर गर्नु गर्यौ

गाउँ बेसि डुल्छौ अरे घरै जान भुल्छौ अरे
जता गयो उतै अड्डा जमाएर गर्नु गर्यौ

एकै क्षण कता गयौ हल्ली खल्ली मात्रै भयो 
यसै गरि  बदनाम  कमाएर गर्नु गर्यौ

सत्य कुरा सोध्न खोजेँ लजाए झैं गरि रह्यौ
अलि अलि भित्र भत्रै सर्माएर गर्नु गर्यौ 

अज्ञात पाल्पाली